बंगलादेशबाट हामीले सिक्नुपर्ने कुराहरु

प्रकाशित मिति : मङ्ल, कार्तिक २६, २०७६



काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने भ्रमणका लागि मंगलबार नेपाल आइपुगे । भारत वा चीनका राष्ट्रप्रमुख आउँदा ठूलो हलचल उत्पन्न हुने नेपालमा बंगलादेशी राष्ट्रपतिको भ्रमणको खासै चर्चा छैन । न मिडियामा न सामाजिक सञ्जालमा ।

बंगलादेशका राष्ट्रपतिको स्वागत र सम्मानमा सरकारले कञ्जुस्याई गरेको छैन । तैपनि सद्भावना भ्रमण भएकाले खासै ठूलो उपलब्धी केही नहुने सरकारी अधिकारीहरु स्वीकार्छन् । फेरि, बंगलादेश नेपाललाई ठूलो सहयोग गर्न सक्ने सम्पन्न राष्ट्र पनि मानिँदैन ।

तर, अर्थविदहरु भने बंगलादेशबाट नेपालले लाभ हासिल गर्ने धेरै क्षेत्रहरु रहेको बताउँछन् । उनीहरुको भनाइमा पछिल्लो समय बंगलादेशको अर्थतन्त्र जसरी फुकेको छ, त्यो पनि नेपालका लागि प्रेरणादायी हुन सक्छ ।

अर्थविद् अच्युत वाग्ले भन्छन्, ‘बंगलादेशले गरेको आर्थिक विकासको अनुभव लिने मात्रै हैन, बंगलादेशी लगानी नेपाल भित्र्याउने, शिक्षा लगायतका पुराना सहकार्यका क्षेत्रलाई फैलाउने, पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने र भारतलाई विश्वासमा लिएर ब्यापार तथा पारवहनलाई सहज बनाउनेमा नेपाल सरकार केन्द्रित हुनुपर्छ ।’

बंगलादेश पछिल्लो समयमा दक्षिण एसियाको बलियो आर्थिक शक्तिका रुपमा उदाउँदैछ । उसको पछिल्लो आर्थिक प्रगतिको अनुभव नेपालका लागि निकै उपयोगी हुनसक्ने अर्थविदहरुको भनाइ छ ।

बंगलादेशको फड्को

सन् १९७१ मा पाकिस्तानबाट टुक्रिएर स्वतन्त्र भएको बंगलादेशले राजनीतिक अस्थिरता, भयावह गरिबी, प्राकृतिक विपत्ति र शरणार्थी संकटसँग जुध्यो । अहिले पनि म्यान्मारबाट आएका ७ लाख ५० हजार रोहिंग्या शराणर्थी बंगलादेशमा छन् ।

धेरै पक्षबाट बंगलादेश र नेपालबीच समानताहरु छन्, जसका आधारमा यी दुबै देश आफ्ना अनुभवहरु आदानप्रदान गरेर आर्थिक प्रगतिमा लम्किन सक्छन् । बंगलादेशले पछिल्ला वर्षमा ८ देखि ९ प्रतिशतको उत्साहजनक आर्थिक वृद्धि हासिल गरेको छ जुन दक्षिण एसियाकै सबैभन्दा उच्च हो । सन् २००६ सम्म चरम गरिबीसँग जुधेको बंगलादेशले त्यसपछि भने आर्थिक विकासको गति पक्रिएको थियो ।

अहिले बंगलादेशले नपत्याउँदो तरिकाबाट हात पारेको सफलतालाई विश्व बैंक, आईएमएफ लगायतले पनि प्रशंसा गरेका छन् । यसै वर्ष संयुक्त राष्ट्रसंघले बंगलादेश अल्पविकसितको सूचीबाट सन् २०२४ सम्म विकासील राष्ट्रमा उक्लिन सक्ने जनाएको छ । प्रधानमन्त्री शेख हसिनाले सन् २०२१ बाट बंगलादेशले ‘डबल डिजिट’को आर्थिक वृद्धिदर हात पार्न थाल्ने बताएकी छिन् ।

नेपाल र बंगलादेशको क्षेत्रफल करिब-करिब समान छ । तर, नेपालको अर्थतन्त्र ३४ अर्ब डलर रहँदा बंगलादेशको अर्थतन्त्र साढे ८ गुणा ठूलो छ । क्षेत्रफलमा ठूलो पाकिस्तानभन्दा बंगलादेशसँग ५ गुणा बढी विदेशी मुद्राको सञ्चिती छ । बीबीसीका अनुसार पाकिस्तानसँग विदेशी मुद्राको सञ्चिति ८ अर्ब डलर हुँदा बंगलादेशसँग लगभग ३५ अर्ब डलर छ । यस्ता धेरै कारणले बंगलादेशलाई ‘दक्षिण एसियाको बाघ’ भन्न थालिएको छ ।

बंगलादेश ऋण सहयोग लिएर नै भएपनि अर्थतन्त्र बलियो बनाउन डराएको छैन । पछिल्लो समयममा बंगलादेशले विकासका लागि ऋण लिने मामिलामा चीनको साथ खोजेको छ । बंगलादेशमा प्रतिव्यक्ति ऋणको भार ४३४ डलर छ भने नेपालको ३२० डलर ।

अन्य सूचक पनि बलिया

एसियाली विकास बैंक (एडबी)का अनुसार दक्षिण एसियामा भारतलाई बंगलादेशले आर्थिक विकासको मामिलामा चुनौती दिइरहेको छ । बंगलादेशको आर्थिक वृद्धिमा उद्योग क्षेत्रको योगदान महत्वपूर्ण छ ।

भारतको अर्थव्यवस्थामा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी छ र उद्योग क्षेत्रको वृद्धिदर कमजोर छ । ठूलो जनसंख्या कृषिमा आश्रति भए पनि नेपाल तथा भारतीय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ ।

१९७४ को भोकमरीपछि बंगलादेश खाद्य उत्पादनमा आत्मनिर्भर बनिसकेको छ । सन् २००९ पछि बंगलादेशको प्रतिव्यक्ति आय तीन गुणाले बढिसकेको छ । यो वर्ष बंगलादेशको प्रतिव्यक्ति आय १७५० डलर रह्यो । नेपालको प्रतिव्यक्ति आय १००४ डलर छ ।

विश्व बैंकको तथ्यांकअनुसार प्रतिदिन १.२५ डलरले जीविका चलाउनेको संख्या १९ प्रतिशतबाट ९ प्रतिशतमा झरेको छ । बंगलादेशमा व्यक्तिको औसत उमेर ७२ वर्षमा पुगेको छ । जबकी भारतमा नै यस्तो उमेर ६८ वर्ष मात्रै छ भने नेपालको ७० वर्ष छ ।

सूचना प्रविधिमा अग्रता

बंगलादेशको आर्थिक मेरुदण्ड कपडा (टेक्सटाइल) उद्योग हो । तर, अहिले सूचना प्रविधि उद्यमको मामिलामा पनि बंगलादेश बलियो बन्न थालेको छ । बंगलादेशले ‘डिजिटल बंगलादेश’ कार्यक्रम मार्फत प्रविधिमा भारतलाई पनि उछिन्ने गरी काम गर्दैछ ।

विश्व आर्थिक मञ्चमा बंगलादेशका सूचना प्रविधि मन्त्रीले दावी गरेका छन् कि बंगलादेशका १२० भन्दा बढी कम्पनीले एक अर्ब डलरभन्दा बढीको सूचना तथा औद्योगिक प्रविधि विश्वका ३५ देशमा निर्यात गरिरहेका छन् । सन् २०२१ सम्म यो यस्तो निर्यातबाट प्राप्त हुने रकम ५ अर्ब डलर पुग्नेछ ।

बंगलादशेकी प्रधानमन्त्री शेख हसिनाले सन् २००९मा ‘डिजिटल बंगलादेश’ कार्यक्रम सुरु गरेकी थिइन् । यसपछि बंगलादेशले सरकारी सेवालाई मात्रै डिजिटल प्लेटर्फममा लगेन, अन्य सूचना प्रविधि सम्बद्ध उद्योग व्यवसाय पनि प्रवर्द्धन तथा विस्तार गर्‍यो । अक्सफोर्ड इन्टरनेट इनस्टिच्यूटको अध्ययन अनुसार बंगलादेश विश्वकै सबैभन्दा धेरै अनलाइन कामदार भएको देश हो ।

बंगलादेशमा जनसंख्याको वृद्धिदर उच्चरुपमा बढ्दै जाँदा पनि अर्थतन्त्रको आकारले त्यसैअनरुप फैलने अवसर पाएको देखिन्छ । १९९५ मा बंगलादेशको जनसंख्या ४.२ करोड थियो, जुन अहिले १६.५ करोड पुगेको अनुमान छ । आईएमएफको आँलकन छ कि हाल २८६ अर्ब डलर रहेको बंगलादेशको अर्थव्यवस्था सन् २०२१ सम्म ३२२ अर्ब डलरसम्म पुग्न सक्छ ।

कपडा उद्योगको योगदान

बंगलादेशमा सबैभन्दा बढी फस्टाएको उद्योग कपडाकै हो । बंगलादेशी कपडा उद्योगहरुले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएका छन् ।

बंगलादेशमा बन्ने कपडाको निर्यात वर्षमा १५ देखि १७ प्रतिशतले बढ्दै गएको देखिन्छ । २०१८ को जून महिनासम्म यस्तो कपडाको निर्यात ३६.७ अर्ब पुगेको थियो । सन् २०१९ सकिँदासम्म यसलाई ३९ अर्ब डलर पुर्‍याउने बंगलादेशको लक्ष्य छ । सन् २०२१ मा आफ्नो स्वतन्त्रको ५० औं वर्ष गाँठ मनाउँदा बंगलादेश यसलाई ५० अर्ब डलर पुर्‍याउन चाहन्छ ।

बंगलादेशको आर्थिक सफलतामा रेडिमेड कपडा उद्योगको सबैभन्दा ठूलो भूमिका रहेको मानिन्छ । बंगलादशेको कपडा उद्योगले नै त्यहाँ सबैभन्दा बढी रोजगारी सिर्जना गरेका छन् । त्यहाँ ४०.५ लाखले कपडा उद्योगमै रोजगारी पाएका छन् ।

सन् २०१८ मा बंगलादेशले गरेको कुल निर्यातमा ८० प्रतिशत योगदान कपडा उद्योगकै थियो । सन् २०१३ मा ‘राना प्लाज्ाा’ भत्किएर भएको दुर्घटनापछि बंगलादेशको कपडाको ब्रान्डमा सुधारका लागि बाध्यात्मक अवस्था सिर्जना भएको थियो । सो घटनामा ११ सय ३० जना कामदारले ज्यान गुमाएका थिए ।

त्यसपछि बंगलादेशका उद्योगहरुको अवस्था सुधार्ने र कामदार मैत्री बनाउने प्रयास भयो । यसले कपडाको उत्पादन वृद्धिमा पनि सघायो । कपडाको माग अनुसार उत्पादन गर्न बंगलादेशलाई अहिले ठूलो विदेशी लगानी चाहिएको छ ।

पछिल्लोपटक चीनले ढाका स्टक एक्सचेन्जको २५ प्रतिशत स्वामित्व किनेको छ । भारतले पनि यसलाई हात पार्न ठूलो प्रयास गरेको थियो । तर, सकेन ।

मिहिनेति बंगलादेशी

त्यसो त बंगलादेशले अझै पनि विदेशमा आफ्ना अदक्ष जनशक्ति आपूर्ति गर्न छोडेको छैन । त्यहाँका लाखौं कामदार श्रम खोज्दै विदेशमा पुगेका छन् ।

बंगलादेशको अर्थ व्यवस्था मजबुत बन्नुमा विदेशमा बसेर श्रम बेच्ने बंगलादेशीको पनि ठूलो भूमिका छ । करिब २५ लाख बंगलादेशी अहिले पनि विदेशबाट रेमिट्यान्स पठाउँछन् ।

यस्तो रेमिट्यान्स वर्षमा १८ प्रतिशतसम्मले बढिरहेको छ । सन् २०१८ सम्म बंगलादेशमा भित्रिने रेमिट्यान्स १५ अर्ब डलर पुगेको छ । तर, बंगलादेश नेपाल जस्तो रेमिट्यान्समा आधारित अर्थतन्त्रमा विश्वास राख्दैन । टिकाउ र बलियो आधारसहितको अर्थतन्त्रका लागि उद्योग धन्दा नै प्रवर्द्धन गर्न खोजेको छ ।

औषधि उत्पादनको केन्द्र

बंगलादेश कम लागतसहितको ‘उत्पादन हब’ बाट बाहिर निस्कन चाहन्छ । त्यसैले बंगलादेशले देशभर १०० वटा विशेष आर्थिक क्षेत्र तयार गर्न लागेको छ, जसमध्ये ११ वटा तयार भइसकेको ६ भने ७९ वटा निर्माणको चरणमा छ ।

बंगलादेश औषधि उद्योगमा पनि छिमेकी देश भारतलाई टक्कर दिइरहेको छ । विश्वमा जेनेरिक औषधि बनाउन भारतको नाम अग्रपंक्तिमा आउँछ । अहिले बंगलादेश पनि यसमा भारतलाई चुनौती दिइरहेको छ । अल्पविकसित देश भएको हुनाले बंगलादेशलाई पेटेन्टको नियममा छुटहरु मिलेको छ । यो छुटका कारण बंगलादेशले भारतलाई पनि औषधी उत्पादनमा चुनौती पेश गर्न सकेको हो ।

अहिले जेनेरिक औषधी बनाउनेमा बंगलादेश दोस्रो ठूलो देश हो । उसले विभिन्न ६० देशमा औषधी निर्यात गरिरहेको छ ।

चुनाती चिर्दै, अघि बढ्दै

आर्थिक प्रगति हात पार्न बंगलादेशलाई अनेकन चुनौती नभएको होइन । बंगलादेशमा प्रमुख दुई पार्टीबीच तीव्र प्रतिस्पर्धा छ । बंगलादेशको राजनीतिमा हालकी प्रधानमन्त्री शेख हसिना र पूर्वप्रधानमन्त्री खालिदा जियाको प्रभुत्व छ । बितेको तीन दशकमा यी दुबै महिला नेतृ सत्तामा आउने जाने क्रम चलिरहेको छ । राजनीतिक खिचातानीका बीचमा दुबै जेलमा पनि जानुपर्‍यो ।

तर, पनि पछिल्लो समयमा शेख हसिनाले देशलाई सही नेतृत्व दिँदै आर्थिक समृद्धिको दिशामा लगेकी छिन् । बाल मृत्युदर, लंगिक समानता, औसत उमेर लगायतका समाजिक विकास झल्काउने मामिलामा बंगलादेश भारतभन्दा अघि छ । यसले बंगलादेशको सुधि्रएको आर्थिक तथा समाजिक छवीलाई उजागर गर्छ ।

बंगलादेशले आफ्नो आर्थिक विकासमा छिमेकी देशहरुको पनि सहयोग लिँदैछ । उसले चीनको बेल्ट रोड इनिसियटिभ -बीआरआई) परियोजनामा पनि भाग लिएको छ । चीन बंगलादेशका ठूला परियोजनामा सहयोग गरिरहेको छ ।

पद्मा नदीमा चार अर्ब डलरको एक बि्रज रेल-वे परियोजना बनाएर दशेको उत्तरी र दक्षिणी इलाका जोड्ने परियोजामा चीनले सहयोग गर्दैछ । चीनले बंगलादेशलाई ३८ अर्ब डलर ऋण दिने प्रतिवद्धता गरिसकेको छ । यसबाहेक अन्य ठूला देश तथा दातृ निकाससँग पनि उसले सहयोग तथा सहकार्यका माध्यमबाट आफ्नो आर्थिक विकासलाई उदाहरणीय रुपमा अघि बढाएको छ ।

सानो देश भए पनि बाक्लो आवादी बंगलादेशका लागि चुनौती मात्रै हैन, अवसरका रुपमा समेत छ । उस्तै उस्तै अवसर र चुनाैती बोकेको नेपालका लागि आर्थिक विकासमा फड्को मार्न बंगलादेशले बनाएको योजना र त्यसको कार्यान्वयनको शैली एउटा महत्वपूर्ण पाठ हुन सक्छ ।

एजेन्सी