घर-घरमा पोखराका उम्मेदवार, यस्तो छ चुनावी चहलपहल

प्रकाशित मिति : शुक्र, कार्तिक २९, २०७६



पोखरा– मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको छ ।

यसै क्रममा शुक्रबार पोखरा–१५ रामबजारमा चुनावी अभियान गरेको छ । रामबजारवासीले घरदैलोमा कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईलाई घरदैलोमा स्वागत गरेका थिए ।

घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा उम्मेदवार भट्टराईले रवीन्द्र अधिकारीको अभाव पोखरेली जनतालाई हुन नदिनका लागि नै आफूले उम्मेदवारी दिएको बताइन् ।

कोणसभामा नेकपाका केन्द्रीय सदस्य चुडामणि जङ्गलीले ‘समृद्ध पोखरा, सुखीपोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताए ।

समृद्धिको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङमार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइप लाइन विस्तारलगायतका कार्यहरु नेकपा सरकारले गरेको बताए ।