सात वटै प्रदेशको अस्थायी मुकाम कहाँ बनाउने भन्ने खाका तयार

१९ पुस, काठमाडौं । सरकारले सात वटै प्रदेशको अस्थायी मुकाम कहाँ बनाउने भन्ने खाका तयार पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।

सरकारले तयार पारेको खाकामा प्रदेश नंम्बर १ को विराटनगर, प्रदेश नंम्बर २ को जनकपुर, प्रदेश नंम्बर ३ को भक्तपुरको ठिमी, प्रदेश नंम्बर ४ को पोखरा, प्रदेश नंम्बर ५ को दाङ, प्रदेश नंम्बर ६ को सुर्खेत र प्रदेश नंम्बर ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ

शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो ।

मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो । अब आवश्यक अध्ययनपछि मन्त्रिपरिषद्को बैठकले ती प्रस्ताव गरेका मुकामलाई तोक्ने बताइएको छ ।

अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ । संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोक्न सक्नेछ ।