गाेरखामा रक्त सञ्चार केन्द्र स्थापना हुँदै

नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाले जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । यस अघि २०६६ साल भदौ १९ गतेदेखि जिल्लामा आकस्किम रक्त सञ्चार केन्द्र स्थापना गरेको सोसाईटीले बेल्जियम रेडक्रसले ग्याप नामक संस्था मार्फत दिने सामग्री सहित केन्द्रको स्थापनामा जुटेको हो ।
जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना सम्बन्धि समन्वयात्मक छलफल कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु, गोरखा उद्योग वाणिज्य संघ, गोरखा जिल्ला अस्पताल, जिल्ला शिक्षा अधिकारी, रोटरी तथा रोट्याक क्लव, गोरखा जेसिस, नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला निकायका प्रमुखहरुले जिल्लामा रक्त सञ्चार केन्द्रको आवश्यकता रहेको बताएका थिए ।
प्रसुती, सवारी दुर्घटना, अप्रेशनका विरामीहरुका लागि जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा विरामी बाहिर पठाउनु परेको भन्दै केन्द्र स्थापनामा ढिलाई गर्न नहुने उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष श्रवण जोशीले बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत संजिव कुमार यादव, लेखा अधिकृत इश्वरी पन्त, भूकम्प प्रतिकार्य कार्यक्रमका गोरखा जिल्ला प्रमुख शिव सुवेदी लगायतले गोरखामा स्थापना हुन रक्त सञ्चार केन्द्रका बारेमा जानकारी दिनुभएको थियो ।
केन्द्र स्थापनाका लागि दाताबाट प्राप्त सामग्रीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा आज भएको छलफलमा रेडक्रसको आफ्नै रक्त सञ्चार केन्द्र भवन नबन्दा सम्म गोरखा जिल्ला अस्पताल नजिकै रहेको जिल्ला शिक्षा कार्यालय गोरखाको खाली भवनमा रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालन गर्ने सहमति भएको जिल्ला नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाका मन्त्री राजेन्द्र न्यौपानेले बताउनुभयो । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला सभापति भगवानबाबु मास्केको सभापतित्वमा होटल मिराकल गोरखामा भएको थियो ।