स्वास्थ्य परीक्षणका लागि केपी ओली आगामी बुधबार बैंकक जाँदै

२१ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् ।

 

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।

तर, चुनावका कारण जान नसकेका अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमाले स्रोतले जनाएको छ । चुनावको बेला सर्वाधिक व्यस्त बनेका नेता ओली चुनावपछि पनि सक्रिय थिए । केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् ।

यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन चाहेको स्रोतको दाबी छ ।

ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि प्रचण्ड र उनको समेत छलफल हुन सकेको छैन ।