राप्ती नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाई

चितवन,पुस २१-

पूर्वी चितवनको राप्ती नगरपालिकाले प्रदान गरेको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जनप्रतिनिधी निर्वाचित भएर आएपछि जनताका गुनासा, सुझाव र टिप्पणी लिने उद्धेश्यले नगरपालिकाले जनतासँग प्रत्यक्ष सम्वाद गर्ने गरि सार्वजनिक सुनुवाई गरेको नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत मिठाराम हुँमागाईले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, फोहर व्यवस्थापन र सरसफाई, ढल निर्माण, कृषि, स्वास्थ्य, पर्यटन लगायतका विषयमा जिज्ञासा राखेका थिए । प्राप्त जिज्ञासा र सुझावहरुका बारेमा मेयर प्रभा वरालले सम्वोधन गरेकी थिइन् ।
मेयर वरालले सिमित श्रोत साधन र कर्मचारीको अभावका कारण जनअपेक्षा अनुसार काम नभएको स्विकार गरिन् । ‘जनप्रतिनिधिहरुबाट तपाईहरुले ठुलो अपेक्षा गर्नु भएको छ’ उनले भनिन् ‘हाम्रो नगरपालिका भर्खरै घोषणा भएको नगर हो, काम केही पनि नभएका होईन,प्रक्रियागत रुपमा काम भईरहेको छ।’ उनले नगरसभाबाट पारित गरिएको ६५० वटा योजना मध्ये १५० वटा योजना सम्झौता भई काम सुरु भईसकेको र केही योजना सम्पन्न समेत भएको जानकारी दिईन् ।कृषिको प्रर्बद्धनको लागि अनुदान,चेपाङ वालवालिकाका शिक्षाको लागि छात्राबास,फोहोर व्यवस्थापनको लागि डम्पीङ साइड निर्माण,शिक्षाको गुणस्तर सुधारको लागि नीतिगत योजना ल्याउने काम भईरहेको मेयर बरालको भनाई छ । प्रशासकीय अधिकृत मिठाराम हुमागाईले नगरले अहिले सम्म गरेका काम र भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।
चितवन क्षेत्र नं.१ प्रदेश सभा सांसद दावा दोर्जे लामा प्रमुख अतिथि रहेको सो कार्यक्रममा नगरवासीहरुले नगर कार्यपालिकाले प्रदान गर्ने सेवा र सार्वजनिक महत्वको काममा नगरपालिकाले ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्ति गरेका थिए । मेयर बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य उपमेयर इमानसिंह लामाले राखेका थिए ।