राजसंस्था र हिन्दुराष्ट्रका लागि राप्रपाले राजनीति गर्ने, नेतृत्व परिवर्तन अनावश्यक

२२ पुस, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रसहितको धार्मिक स्वतन्त्रताको पक्षमा केन्द्रिय समितिमा छलफल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता तामाङले दुईवटा एजेण्डामा केन्द्रित भएर बैठकमा नेताहरुले बोलेको जानकारी दिए ।

केन्द्रिय सदस्यहरुले पार्टीको कमजोरीहरु पनि औँल्याएको उनले बताएका छन् । चुनावमा पार्टीले किन हार्यो भन्ने विषयमा बैठकमा गम्भीर छलफल भएको तामाङले बताएका छन् ।

केन्द्रिय समिति विष्णु भण्डारीको नेतृत्वमा पार्टीको पराजयबारे अध्ययन गर्न साद सदस्यीय समिति बनाइएको उनले जानकारी दिए ।
पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारलाई धन्यवाद दिने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।

बैठकमा अध्यक्ष कमल थापाले आफ्ना कमी कमजोरी भए नेतृत्व छोड्न तयार भएको बताएको तामाङले तर्क गरे । खुला छलफलका क्रममा नै थापाले नेतृत्व छोड्न तयार रहेको बताए पनि केन्द्रिय सदस्यहरुले अहिलेको अवस्थामा नेतृत्व परिवर्तन गर्न नहुने धारणा राखेको तामाङको दाबी छ ।

पार्टीले चुनाव हारेपछि नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा केन्द्रिय सदस्यहरुले राखेको भए पनि नेतृत्व परिवर्तन नै गर्नुपर्ने कुरा नउठेको उनको भनाई छ ।
पार्टीले चुनाव हारे पनि नेता कार्यकर्तालाई निराश नभै संगठन विस्तारमा लाग्न बैठकले आग्रह गरेको उनले जानकारी दिए । समान विचार भएका पार्टी र समुहलाई पार्टी एकताका लागि आह्वान गरिएको तामाङको भनाई छ ।

राप्रपा प्रजातान्त्रिक (पशुपतिशमशेर) र राष्ट्रवादी राप्रपा (प्रकाशचन्द्र लोहोनी) सँग पनि पार्टी एकता गर्न सकिने तामाङले बताएका छन् ।
चुनावको मुखमा पार्टी विभाजित भएकाले पराजित हुनुपरेको निष्कर्ष बैठकले निकालेको उनको भनाई छ । त्यसैगरी स्रोत र साधनको कमी भएकाले पनि चुनाव हारिएको उनको दाबी छ ।

कांग्रेससँग तालमेल गरेर पाँच ठाउँमा मात्रै उम्मेदवार उठाएकाले पनि चुनाव हारिएको समिक्षा बैठकमा भएको उनले बताए । नेपाली कांग्रेससँग गठबन्धन भए पनि कांग्रेसदे इमानदारिता नदेखाएको अरोप तामाङले लगाएका छन् ।