तापक्रम अझै घट्छ, चिसो अझै बढ्छ : मौसमविद्, शनिबारको न्यूनतम् तापक्रम १.६ डिग्री सेल्सियस

काठमाडौं, पुस २२ । न्यूनतम् तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम् तापक्रम १.६ डिग्री सेल्सियस छ ।घटेर स्थीर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ ।

रातमा आकाश खुला भएकै कारण केही दिन न्यूनतम् तापक्रम स्थीर रहने बताइएको छ । मौसमी प्रणालीकै कारण न्यूनतम् तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानांगले बताए । उनकाअनुसार अझै न्यूनतम् तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ ।

शनिबार पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ ।

काठमाडौंको माइनस तीन डिग्री मापन रेकर्ड:

काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम् तापक्रम माइनस तीन दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।विगतको अवस्थालाई हेर्दा योपटक न्यूनतम् तापक्रम अझै घट्ने मौसमविद् प्रधानांगको भनाइ छ ।

महाशाखाकाअनुसार काठमाडौंमा यही २० गते न्यूनतम् १.५ डिग्री सेल्सियस रहेको थियो । शनिबार सबैभन्दा कम जुम्लामा न्यूनतम् तापक्रम माइनस ८.५ र सबैभन्दा बढी विराटनगरमा ७.७ डिग्री सेल्सियस छ । रासस