पाँचौ खिचरा महोत्सव पुस २८ देखि, तयारी अन्तिम चरणमा

चितवन, पुस २२– थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा चितवनमा आयोजना हुन लागेको ‘पाँचौं खिचरा महोत्सव २०७४’ को तयारी अन्तिम चरणमा पुगेको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित खिचरा महोत्सव यही पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा आयोजना हुन लागेको हो । आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले आज पत्रकार सम्मेलन गरि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले विगतका महोत्सव भन्दा यसपटक महोत्सवको आकर्षण थपिएको जानकारी दिनुभयो । उहाँले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको जानकारी दिनुभयो । यस्तै महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ ।

यस्तै यसवर्ष महोत्सवको अर्को आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिने छ । महोत्सवमा करिव २ सय वटा व्यवासीयक स्टलहरु राखिने छन् । अहिले स्टाल निर्माण र अन्य तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ । महोत्वसवमा करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिनुभयो । ११ दिनसम्म चल्ने महोत्सवको भूमी सुधार मन्त्री गोपाल दहितले समुद्घाटन गर्ने कार्यक्रम रहेको अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले जानकारी दिनुभयो । महोत्सवमा ११ दिन नै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

गतवर्षको आकर्षणलाई दिईएको निरन्तरताहरुः –

पुस २८ गते विहान ९ बजेदेखी नयाँ रोड पर्साको मगनी चोकबाट झाँकीसहितको विशाल शोभायात्रा । –

पुस २८ गते दिउँसो १२ बजे महोत्सव परिसरमा प्रमुख अतिथि भूमी सुधार मन्त्री गोपाल दहितबाट महोत्सवको समुद्घाटन ।

–राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती ।

–राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती ।

–थारु लगायत विभिन्न जातजातिहरुको साँस्कृतिक नाचगीत प्रस्तुत ।

–२०० वटा व्यापारिक स्टलहरु ।

–थारु खनाका परिकारहरु लगायतका अन्य फुड स्टलहरु ।

–अटो परिसर । –प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी ।

–थारु परम्परागत साँस्कृतिक घर र मचान निर्माण ।

–बाल उद्यानमा मनोरञ्जन गर्न पाउनुको साथै परिसरको तीनतिर बगेको बुढी राप्तीमा बोटिङको व्यवस्था ।

–प्राथमिक उपचार कक्षको व्यवस्था ।

–पत्रकारहरुलाई नगद पुरस्कार र सम्मान ।

–अनाथ, अपाङग तथा असहाय बालबालिकाहरुलाई सहयोग ।

यसवर्षको थप आकर्षणः

–यसवर्षको प्रमुख आकर्षण स्टेज हुनेछ । स्टेजको दुवै तर्फ नेपालको कुनै पनि महोत्सवमा प्रयोग गर्न नसकिएको १८ फिटका दुई थानका एलईडी स्क्रिन जडान लागिएको छ ।

–प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी ।

–थारु जतिका मूख्य खाना मध्ये घोङघी र चिचरको विशाल मूर्ती प्रदर्शनी ।

–महोत्सव स्थलदेखि कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी ।

–राष्ट्रियस्तरको नकआउट भलिवल प्रतियोगिता ।

–हस्तकला, मुर्तीकला तथा चित्रकला प्रदर्शनी र फेसपेन्टको सुविधा ।

–सेल्फी फोटो प्रतियोगिता ।

–वक्तृत्वकला प्रतियोगिता ।

–हाजिरी जवाफ प्रतियोगिता ।

–रन फर हेल्थ (४० वर्ष बढि उमेर समूहको ३ किलो मिटर दौड प्रतियोगिता ।

–थारु भेषभुषा लगाएर फोटो सेसन गरि पाँच मिनेट भित्रमा फ्रेमसहित फोटो उपलब्ध गराउने ।

–रु.५० को हरेक टिकटमा रु.२५ बराबरको एक थान पल्पी जुस उपहार ।

–महोत्सवमा आउने हरेक दर्शकहरुको टिकटमा रु.३५ हजार बराबरको बम्पर उपहार समापन कार्यक्रममा प्रदान गरिने ।

–आन्दोलनमा घाईते सन्जीत महतोलाई आर्थिक सहयोग र सम्मान ।

–सन्जीत महतोको निःशुल्क उपचार गर्ने एलाईभ हस्पिटल एवंम ट्रमा सेन्टर भरतपुरका डा.प्रमोद लामिछाने र प्रवन्ध निर्देशक डा.बिएम खरेललाई सम्मान कार्यक्रम ।