लघुकथा: फिर्ता पाइलाहरु ।

लघुकथा: फिर्ता पाइलाहरु ।

लेखक : हरी ब. थापा, बन्दिपुर- १, नाहाला, तनहुँ ।

मध्यरातमा जुरुक्क उठी रमला । लाईन थिएन, चारैतिर सुनसान र अँध्यारो थियो । फेरि सम्झी उही कुरा, अनि आँखा टिलपिलाउन थालिहाल्यो उसको ।

 

अन्तिम भेट भनेर आफूसँगै ओछ्यानमा सुतिरहेकी साँढे २ वर्षकी छोरीलाई मोबाइलको लाईट बालेर हेरी अनि म्वाँई खाई र पछ्यौरा ओढेर सुटुक्क ढोका खोलेर बिरालोको चालमा बाहिर निस्किई ।

 

ढोका निरकै खाटमा लोग्ने भनाँउदो सुतिरहेको थियो । फुटेको आँखाले पनि हेर्न सकिन उसलाई । चकमन्न औँसीको रात थियो । फाट्टफुट्ट कतै कतै कुकुर भुकिरहेको सुनिन्थ्यो । आजको रात मात्र नभएर उसलाई आफ्नो जिन्दगीमा नै सबैभन्दा कालो र घनघोर औंसी आएको जस्तो भईरहेको थियो ।

 

 

माईतीमा कोही नभएका उसका लोग्नेको दिनहुँ जसोको कुटाई र टोकसो सहन नसकेर कुसुण्डे डाँडाको भिरतिर पाईला लम्किदै थिए…उसकै बुझाईमा ‘मुक्ति मार्ग’तर्फ । अचानक उसलाई आफ्नो अबोध छोरीको मुहार याद आयो । उसका पाईलाहरु रोकिए ।

 

“के एउटी दुधे बालिकालाई टुहुरो बनाएर मैले वास्तविक मुक्ति पाँउछु त ?…….अहँ ! कदापी पाँउदिन । भोली यो संसारमा विभिन्न हण्डर र ठक्कर खाएर हुर्कनु पर्दा मेरी छोरीको आत्माले मलाई कति धिक्कार्ला ? यो स्वार्थी संसारमा जन्माउने बित्तिकै सिस्नुघारीमा फ्याँकेर हिड्ने ‘पुतना’ आमाहरु पनि छन् । उनीहरु र ममा के फरक हुने भयो त मैले यो बाटो रोजेपछि ? म मेरी छोरीको लागि भएपनि यो संसारमा जुनसुकै परिस्थिति आए पनि बाँच्नै पर्छ ।”….बररर अश्रुधारा बगाएर यस्तो सोच्दा सोच्दै रमलाले आफ्नो मुटु दरो बनाई । त्यसपछी घरबाट निकै दुर पुगिसकेका उसका पाईलाहरु फनक्क मोडिए ।

 

घरको तगारो निरै आईपुग्दा उसले आफ्नो छोरी “मम्मी, मम्मी” भन्दै रोईरहेको सुनी । दगुर्दै ढोका खोलेर भित्र छिरी ऊ । टन्न जाँड धोकेर सुतेको लोग्ने थाहा पाएर हो वा नपाएर हो, घुर्दै सुतिरहेको थियो उही अवस्थामा ।

 

घरमा आईपुग्दा लाईन आईसकेको रहेछ । हतपत बत्ती बाली र छोरीलाई फुलाउदै काखमा लिएर दुध खुवाउन थाली । भोकले रहेछ क्यारे, दुध खान थालेपछि छोरीको रुवाई बन्द भयो ।

 

रमलालाई संसारको सबैभन्दा ठुलो मोक्षको आनन्द मिलेको अनुभव भईरहेको थियो ।