रत्ननगर महोत्सवमा तीन कार्यशाला हुने

चितवन, पुस २३–

यही पुस २७ गतेबाट सुरु हुने रत्ननगर महोत्सव अबधि भर जिल्लाको विकासलाई आधार बनाएर तीन महत्वपूर्ण कार्यशाला हुने भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने सो महोत्सव अन्तर्गत कृषि र पशुपालको सम्भावन, समस्या र चुनौती, चितवनको आर्थिक विकास र सडक सुरक्षाका उपायहरु बारेमा कार्यशाला आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए । कृषि र पशुपाल सम्बन्धी कार्यशालामा कृषिको उत्पादन वृद्धि र पशुपालन सम्बन्धी कार्यशाला दुध उत्पादन वृद्धि र व्यवसायिक पशुपालनका बारेमा विज्ञहरुबीच छलफल हुने महोत्सवका संयोजक रेग्मीले जानकारी दिए । उद्योग बाणिज्य संघको आयोजना तथा व्यवसायिक पशुपालक कृषक समाज रत्ननगर र नगर स्तरीय दुग्ध उत्पादक सहकारी संघको सह–आयोजनामा पशु स्वास्थ्य तथा दुग्ध व्यवसायको वर्तमान अवस्था, अबसर र चुनौती विषयक कार्यशालामा तीन वटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत हुने व्यवसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगालले जानकारी दिए । सो कार्यशालामा रत्ननगर नगर कार्यपालिका भित्रका उत्कृष्ठ दुग्ध व्यवसायी किसान र दुग्ध उत्पादक सहकारी संस्थालाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । सडक सुरक्षा सम्बन्धी कार्यशालामा दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना लगायतका विषयमा छलफल र कार्यपत्र समेत प्रस्तुत गरिने महोत्सवका संयोजक रेग्मीले बताए ।