मौलिकता गुमाउदै सौराहा

चितवन, २४ पुस
चितवनको सौराहा, निकुञ्ज, गैंडा, हात्ती, थारु समुदाय यी एक अर्कासँगै जोडिएका नाम हुन् । सौराहा आउने जो केहीले कम्तीमा पनि यी विषयसँगको अनुभव लिएर मात्र आफ्नो यात्रा टुङग्याउने गर्दछन् । सौराहा आइसकेका पर्यटकहरु निकुञ्ज भित्रको अवलोकन, गैँडा र बाघ प्रत्यक्ष हेर्न चाहने हुन्छन् । त्योसँगै थारु समुदायको संस्कृति हेर्ने र दैनिक जीवनको अनुभव गर्न चाहने उद्देश्य लिएका हुन्छन् ।
यहाँको विशेषताको छुट्टै अनुभव रहेको छ । सौराहा आउने पर्यटकहरुले सबैभन्दा पहिला यो थारु समुदायको बसोवास रहेको क्षेत्र भन्ने थाहा पाउँछन् । उनीहरुको भेषभूषा, विगतका इतिहास, दैनिक जीवनमा प्रयोग गर्ने सामग्री हेरेर आनन्द लिने पर्यटकको संख्या पनि त्यतिकै हुने गरेको छ । थारु समुदायको बाक्लो वस्तीबाट पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै गएको सौराहा स्थानीय जातिको संस्कृतिलाई जोगाउँदै पर्यटन प्रवद्र्धन गरिँदै गरेको स्थान हो ।
तर पछिल्ला केही वर्षदेखि वर्षौंदेखिको विशेषता बोकेको थारु संस्कृतिको पहिचान नै गुमाइने अवस्थामा सौराहा पुगेको थारु संस्कृतिमा चासो राख्नेहरुको बुझाइ छ । गर्मी हुने स्थान चितवन त्यसमाथि मलेरिया रोगसँग लडेर बाँच्न सकेका आदिवासी थारु समुदायको कला संस्कृतिलाई नयाँ बन्ने होटलहरुले समेट्न नसकेको उनीहरुको भनाइ छ । थारु समुदायको कला संस्कृति जगेर्ना गर्नको लागि थारु नाँच, थारुहरुको संग्रहालयहरु निर्माण गरेर आफ्नै प्रयासमा संस्कृतिलाई जोगाई राखेको थारु अगुवाको भनाइ छ ।
विश्वका धेरै व्यक्तिहरु आउने स्थान सौराहा हो । यहाँ आएका अतिथिहरुलाई थारु संस्कृति र यहाँको छुट्टै मौलिकता जोगाउने जिम्मेवारी यहाँका पर्यटन व्यवसायीको रहन्छ । थारु कल्याणकारी सभाका केन्द्रीय सल्लाहकार बासु चौधरी बताउँछन् । ‘विगतमा सौराहाका होटलहरुले थारु संस्कृतिलाई जोगाउने खालका संरचना निर्माण गर्ने गरेका थिए’ उनले भने ‘तर अहिले त्यस्तो पाइँदैन ।’ थारुको कला हेर्न आएकाहरुलाई आधुनिक पक्की संरचनाले मासेको अनुभव गर्दछन् उनी ।

‘विगतको सौराहा अब रहेन’ उनले भने ‘२० वर्ष अगाडि सौराहा आउँदा पक्की घरमाथिको छाना खरको हुने गरेको थियो । होटल नै थारुको घरजस्तो निर्माण गरेका थिए । होटल अगाडि कजेज निर्माण गरेका हुन्थे । तर अहिले त्यस्तो छैन । थारुको कला झल्कने खालका होटलहरु छैनन् । आधुनिकताले गाजेको छ ।’
बछ्यौली माध्यमिक विद्यालयका पूर्व सहायक प्रधानाध्यापक समेत रहेका चौधरीले भने ‘कंक्रिटका घरहरु छन् । थारुको संस्कृति झल्कने एउटा होटल पनि देखिँदैन । सौराहा भनेको थारुको विशेषता हो । खोइ यहाँको संस्कृतिको जर्गेना गरेको । हाम्रो समुदायको बाक्लो वस्तीमा पर्यटकीय क्षेत्र बनेपछि हाम्रा संस्कृति मास्न पाइँदैन’ उनले भने ‘होटल बनाऊ तर हाम्रा संस्कृतिको जगेर्ना गरेर व्यवसाय गर । होटलको संरचना बनाउँदा थारुको घरजस्तै मोडलमा बनाएरभित्र आधुनिकता दिए हुन्छ । जसले गर्दा हाम्रा संस्कृतिको जगेर्ना हुन जान्छ ।’
यहाँ आएका विदेशी पर्यटक अहिले पनि थारुको घरमा आएर उनीहरुसँगै पिर्कामा बसेर खाना खाने गर्दछन् ।

हाम्रो घर हेर्न आउँछन् । हामीले प्रयोग गरेका सामग्रीलाई अध्ययन गर्छन् चौधरीले भने ‘यही र यस्तै कला झल्कने सामग्री होटलमा राख्नु पर्दछ जसले गर्दा हाम्रो कला जोगियोस्’ उनले भने ‘हाम्रा संस्कृति जोगाउन हामीले नै संग्रहालय निर्माण गरेर राखेका छौं ।
सौराहामा पर्यटन व्यवसाय सुरुवात गर्ने व्यक्तिमध्येका एक गिरिधारी चौधरीका अनुसार सौराहामा पर्यटक बस्ने स्थान कटेज रहेको सम्झन्छन् । थारु बस्ने घरजस्तै मोडलका होटलहरु बन्ने गरेका थिए । उनले भने ‘त्यही होटलमा विदेशी पर्यटक रमाउँथे । पछि विस्तारै आधुनिकताले प्राथमिकता पाउन थाल्यो । त्यस अवस्थामा पनि थारुहरुको संस्कृतिलाई प्राथमिकता दिने गरेको थियो । यहाँको छुट्टै मौलिकता छ । यहाँको विशेषतालाई ध्यान दिनु पर्यटन व्यवसायीको दायित्व हो’ उनले भने ‘आफ्नो व्यवसायलाई निरन्तरता दिँदै स्थानीय मौलिकतालाई जोगाउनु दायित्व पनि रहन्छ ।’
क्षेत्रीय होटल संघ सौराहाको १७ वर्षसम्म अध्यक्ष पदमा रहेर काम गरेका चौधरीले खडाइको बार खरको छानो थारुले निर्माण गर्ने घरका सामग्री हो ।

यही सामग्रीबाट होटल निर्माण गर्न अहिले सकिँदैन । तर पनि थारुहरुले निर्माण गर्ने घरको मोडलमा पक्की संरचना बनाउन सकिन्छ । ती होटलअगाडि थारुले प्रयोग गर्ने सामग्रीबाट कटेज निर्माण गर्न सकिन्छ । यसले गर्दा संस्कृति जोगिन्छ र भिन्नै मौलिकता देखिन्छ । केही वर्षअगाडि होटलहरुको छाना खरको हुने गरेको थियो । यसले केही हदसम्म कला संस्कृतिको जगेर्ना भएको हामीले पाएका थियौं । तर अहिले त्यस्तो कहीँ कतै देखिँदैन ।

पहिलो निकुञ्जमा खर पाइन छाड्नु, खडाइले भित्ता बारेर आधुनिक सुविधा दिन नसक्नु कारणले गर्दा पनि व्यवसायीलाई समस्या छ । तर पनि यहाँको मौलिकतालाई प्राथमिकता दिएर संरचना बनाउनु पर्ने अनिवार्य लागू भएमा मौलिकता रहन्छ ।
२०३३ सालबाट सौराहामा होटल निर्माण भएर पर्यटकको लागि बासको व्यवस्था भएको इतिहास छ । संस्थापक होटलहरुको अध्यक्ष चौधरीले २०३६ सालमा आफूले कटेज निर्माण गरेर व्यवसाय सुरु गरेका थिए । तात्कालीन समयमा चोरी डकैतीको समस्या थिएन । सामान्य घरमा बसेर रात बिताए पनि सुरक्षित हुने गरेको थियो उनले भने । अहिले सुरक्षाको कारणले पनि बलियो पक्की संरचना निर्माण गर्नु पर्दा थारुको संस्कृति मासिन थालेको उनको भनाइ छ । अब बन्ने होटलहरुले आफ्नो परिसरमा थारु संस्कृतिको जगेर्ना गर्नको लागि पुरानै शैलीमा कटेज निर्माण गर्नुपर्ने नियम लगाउन थालिएको बताए ।
सौराहामा भएका सबै होटलहरुलाई एउटै रंग र कला संस्कृति जगेर्ना गर्नेगरी संरचना निर्माणको लागि नियम लगाउन थालिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन बताउँछन् । सौराहा भनेको हाम्रो मात्र स्थान होइन यो अन्र्तराष्ट्रिय क्षेत्रमा चर्चित स्थान हो । यहाँको भिन्न मौलिकता रहेको छ । त्यसैले हामीले यहाँको पहिचान गराउनको लागि नगरपालिकाबाट निर्णय गरिसकेका छांै । एउटै रंग, दुई तलाभन्दा अग्लो घर निर्माण गर्न नपाउने । यो निर्णय कार्यान्वयन गर्नको लागि अब हामी पहल गर्ने छांै ।
ढिकीजाँतो, कम्मर मुनि कछाड, ढक्की, खुर्पेटो यी सामग्री थारु समुदायको दैनिक जीवनमा उपयोग हुने हो । सेतो फरिया हातमा ठूला बाला, घाँटीमा कल्ली, लामो कपाल, हात र शरीरमा काला टाटु, कम्मरमा माटोको घैँटो, कानमा झुम्का थारु महिलाको पहिरन हो ।

खपटाले छाएको छानो, माटोले पोलेको भित्ता थारुहरुको घरको विशेषता हो । तर यो सामग्री भएको घर र महिला पुरुष हेर्नको लागि संग्रहालयमा जानु पर्दछ । व्यवहारमा यस्तो देखिँदैन । यही मौलिकतालाई कहीँ कतै पर्यटन व्यवसायीले समेट्नु पर्ने थारु अगुवाहरुको भनाइ छ । यस्ता सामग्री र कला लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता गरेका छन् । मौलिकता गुमाउँदै गएको सौराहालाई अब पुराना कला संस्कृतिको जगेर्ना गर्ने अवस्थामा ल्याउनु ज्यादै कठिन भएको थारु अगुवाहरुको भनाइ छ ।
स्थानीय कलालाई प्राथमिकता दिने संरचना भेटिँदैन । अग्ला, आधुनिक सामग्रीको प्रयोग भएको अत्याधुनिक भवनहरु निर्माण भएका छन् । सौराहा जाँदा कुनै विदेशको यात्रा गरेको अनुभव गर्न सकिने पुराना पर्यटन व्यवसायीको भनाइ छ ।