स्वास्थ्य

– हरि ब. थापा/ बन्दिपुर-१, नाहाला, तनहुँ ।

 

🎃🍄🍆

 

खोल्साको छेउछाउको सेपिलो ठाँउमा एकसुरमा गीत गाँउदै एकजना दिदी जंगली कर्कलो टिप्दै थिईन् । उत्सुकता लागेर सोधेँ  – के टिप्दै हुनुहुन्छ दिदी ? उनले सहज उत्तर दिईन् – “जलुका हो भाइ । पकाँउदा अलिकति पिना पनि मिसाएर पकाउने हो भने यो बारीको कर्कलो भन्दा तिख्खर हुन्छ ।”

 

 

हो ! हाम्रै बनजंगल, खोल्साखोल्सी र बारीको छेउछाउ यस्ता हरिया-परिया तरकारी भेटिन्छन् तर हामीहरु धेरै जनाले यस्ता कुरामा खासै ध्यान दिदैनौं । “खानेकुरा मिठोको लागि हैन, स्वास्थ्यको लागि खाने हो” भन्ने ज्ञानको अभाव छ हामी नेपालीमा ।

 

 

हाम्रै वरपर सिस्नो पलाएर त्यसै सुकेर जान्छ तर हामीलाई वास्ता हुँदैन । स्वास्थ्यको दृष्टिकोणले निकै नै लाभदायक मानिने सिस्नो  विदेशमा त सुकाएर प्याकेटमा बेच्न राखिएको भए पनि मान्छेहरु खोजी खोजी किनेर खान्छन् । वर्षायाममा जंगल र सेपिलो ठाँउमा पलाउने निउरोको स्वाद र गुण जति गाए पनि कम हुन्छ ।

 

 

पानी पर्दा सुकेको मुढामा भररर उम्रने ‘कन्ये च्याउ’ 🍄छोडेर हामी ब्रोईलरको🐔 मासु किनेर खाँदा आफुलाई ठूलो ठान्छौं । तपाईं पत्याउनुस् वा नपत्याउनुस्, नेपालका केही जिल्लाहरुको जंगलमा पनि पाईने ‘सिताके च्याउ’ विदेशमा सुकाएको १ किलोको रु. ५०-६० हजारमा किनबेच भएको मैले देखेको छु ।

 

 

आजकल मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । यसको प्रमुख कारण शारीरिक श्रमको कमी मात्र नभएर उचित खानपिनको अभाव पनि हो । बजारमा पाईने तरकारी किनेर खानुको सट्टा आफ्नै गाँउघर वरपर पाईने तरकारीको महत्त्व चिनेर उपयोग गर्न सके आफ्नो स्वास्थ्यलाई धेरै हदसम्म बचाउन सकिन्छ ।