वन्य जन्तु संरक्षणको जिम्मा पनि सामुदायिक वन उपभोक्ता समितिलाई दिईनु पर्छ

बन्दिपुर टाईम्स/तनहुँ , माघ २८- गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सामुदायिक वन उपभोक्ता समितिले नै वन्यजन्तु संरक्षणको जिम्मा लिईनु पर्ने बताउनु भएको छ । मन्त्री चुमानले सो कुरा भानु नगरपालिका–२ मा वन्यजन्तुको आश्रमणमा परी मृत्यु तथा घाईते भएका परिवारलाई आज सोमबार राहत हस्तान्तरण कार्यक्रममा बताउनु भएको हो । सामुदायिक वन उपभोक्ता समितिलाई वन संरक्षणमा सफलता मिले जस्तै वन्य जन्तु संरक्षणमा भने सफलता नमिलेको उल्लेख गर्दै मन्त्री चुमानले सामुदायिक वनलाई नै वन्यजन्तु संरक्षणको पूर्ण अधिकार दिएर संरक्षण गरिनु जरुरी रहेको बताउनु भयो । उपभोक्ताहरुलाई वन्यजन्य संरक्षण गर्ने सम्बन्धि प्राविधिक ज्ञान दिएर रुख र वन्यजन्तु दुवै संरक्षण गर्न सफलता मिल्ने मन्त्री चुमानले बताउनु भयो । हाम्रा अग्रजहरुले वस्ती वरपर वर , पिपल, आँप, समीका रुख हुर्काउने , डाँडा काँडामा समेत पोखरी बनाउने जस्ता गरेको प्रकृतिको संरक्षण गरेको स्मरण गर्दै मन्त्री चुमानले पूर्खाका कामबाट ज्ञान लिनु पर्ने बताउनु भयो । पुरानो पुरानो पोखरी प्रति हाम्रो चासो गाईरहेको छैन त्यसले जमिनमा पानी रिचार्ज भई मुल सुक्न रोक्ने , वन्यजन्तुले पनि पानी खान पाएका थिए ,त्यस्ता कुरा हामीले पनि अनुकरण गर्नुपर्छ र पोखरी खन्नुपर्छ’ मन्त्री चुमानले भन्नुभयो । मन्त्री चुमानले कार्यक्रममा नेपाल सरकारको तर्पmबाट राहत भुक्तानी दिन बाँकी चितुवाको आक्रमणबाट ज्यान गुमाउनु भएकी भानु नगरपालिका–२ की ४ वर्षिया रञ्जिता बसेलकी आमा सरस्वती बसेल र मृतक १० वर्षिय अमृत गुरुङको दिदी अन्जना गुरुङलाई ९ लाख ५० हजार रुपैयाँका दरले हस्तान्तरण गर्नु भयो । उनिहरु दुवैको केही समय अघि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । प्राप्त गर्ने १० लाख मध्ये ५० हजार रुपैयाँ तत्काल दिईएको र ९ लाख ५० हजार भुक्तान दिन बाँकी रहेकोले राहत हस्तारण गर्ने कार्यक्रम राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराले जानकारी दिनु भयो । सोही कार्यक्रममा भालुको आक्रमणबाट घाईते हुनु भएका भिमबहादुर तामाङको परिवारलाई ५६ हजार ८ सय ६१ रुपैयाँ मन्त्री चुमानले हस्तान्तरण गर्नु भयो । कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख आशा थापा , वडा नम्बर २ का वडाध्यक्ष अर्जुन केसी लगायतले सम्बन्धित ठाउँमै पुगेर समयमा नै राहत रकम उपलब्ध गराएकोमा नेपाल सरकारलाई धन्यवाद दिनु भएको थियो । चितुवा मृत अवस्थामा भेटियो तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीमा सोमबार दिउँसो मृत अवस्थामा एक चितुवा फेला परेको छ । मृत्युको कारणबारे अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी बाबुराम उप्रेतीले जानकारी दिनु भयो । स्थानीय वासिन्दाले मृत अवस्थामा भेटेपछि खबर गरेका थिए ।