आज जनयुद्ध दिवस : नेकपाको अगुवाइमा देशभर विविध कार्यक्रम, जनयुद्ध सुरु गर्ने प्रमुख नेताहरु भने तीनतिर

चितवन, फागुन १-

नेकपा एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकतापछि नेकपाले पहिलोपटक आज औपचारिकरुपमा जनयुद्ध दिवस मनाएको छ । जनयुद्ध दिवसको अवसरमा चितवनलगायत देशभर विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

चितवनको कृष्णपुरमा नेकपाले गरेको कार्यक्रममा चितवन जिल्लाका शीर्षस्थ नेताहरुको सहभागिता रहेको थियो । ‘जनआन्दोलन तथा जनयुद्ध दिवस’ भनेर मनाइएको यस कार्यक्रमको अध्यक्षता नेकपाकी जिल्ला नेतृ रेनु दाहालले गरेकी थिइन् । त्यस्तै, कार्यक्रममा जिल्लाका नेताहरु यमबहादुर परियार, कृष्ण खनाल, देवी ज्ञवाली, घनश्याम दाहाल, केशवलाल श्रेष्ठलगायतले बोलेका थिए । पार्टीको केन्द्रको निर्देशनमा चितवनमा जिल्ला तहदेखि स्थानीय कमिटीहरुसम्म कार्यक्रम सञ्चालन भइरहेको नेकपाका जिल्ला नेता तेजेन्द्र खड्काले बताए । त्यसैगरी अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, विप्लव र वैद्य निकट चार विद्यार्थी संगठनको आयोजनामा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज जनआन्दोलन तथा जनयुद्ध दिवस मनाएका छन् ।

तत्कालीन माओवादीले सशस्त्र संघर्ष थालेको २३ वर्ष पूरा गरी २४ वर्ष लागेको अवसरमा नेकपाले औपचारिक कार्यक्रम गरी यो दिवस मनाएको हो । २०५२ फागुन १ गतेका दिनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई र मोहन बैद्य लगायतका नेताहरु भूमिगत भएका थिए । त्यसपछि सुरु भएको जनयुद्ध १० बर्ष चलेको थियो । जनयुद्ध सुरु गर्ने तीन प्रमुख नेताहरु अहिले भने तीनतिर बाँडिएका छन् ।

प्रचण्ड नेकपामा छन् भने बाबुराम मार्क्सवाद नै छाडेर नयाँ शक्तिमा छन् भने मोहन बैद्य छुट्टै पार्टीमा छन् । यसैबीच तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपाले जनयुद्ध दिवसको स्मरणमा पार्टी कार्यालय काठमाडौँको धुम्बाराहीमा विशेष कार्यक्रमको आयोजना ग¥यो ।

जसमा नेकपाका एक अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, भीम रावल र सुवास नेम्वाङ लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धान्जली’ नामक उक्त कार्यक्रममा सहभागिहरुले जनयुद्ध र त्यस क्रममा सहादत प्राप्त गर्नेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । यसअघि अध्यक्ष प्रचण्ड आजै पेरिसडाँडा पुगेर सहिदहरुलाई स्मरण गरेका थिए ।