राजस्व छुटका लागि चितवनमा महिलाका नाममा जग्गा लिने बढे

चितवन, फागुन ९-

चितवनको माडी मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको संख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजस्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको संख्यामा वृद्धि भएको माडी मालपोत कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कुस्माखर अधिकारीका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा मात्र नभई दलितको नाममा पनि जग्गा पास गर्नेको संख्या वृद्धि भएको छ । अहिले दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा २५ प्रतिशत छुट हुने कानुनी प्रावधान छ । आर्थिक वर्ष २०७५\७६ को माघ मसान्तसम्ममा माडी मालपोत कार्यालयबाट ७०० वटा लिखत पास भएकोमा २५० जना महिला रहेका छन् । जसबाट १६ लाख ११ हजार ४७३ रुपैयाँ राजस्व छुट भएको छ । त्यस्तै दलितको नाममा २० जनाले जग्गा पास गरेका छन् जसबाट एक लाख ३१ ह्जार ७८८ रुपैयाँ छुट भएको छ । त्यसैगरी पतीपत्नी संगोलको नाममा जग्गा पास गर्ने एक जना वृद्धले ६ हजार रुपैयाँ राजस्व छुट पाएको प्रमुख अकिारीले बताए । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व छुट लिनेको संख्या बढी भएको उनले जानकारी दिए ।
पश्चिम चितवनको चनौली मालपोत कार्यालयमा पनि महिला र दलितको नाममा जग्गा पास गर्नेहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको छ । कार्यालयका प्रमुख ऋषिराज ढकालले अघिल्ला वर्षहरुको तुलनामा राजस्व छुट पाइने भएकोले मालपोत कार्यालयमा महिलाको नाममा जग्गा पास गर्ने काम बढ्दै गएको जानकारी दिए । चनौली मालपोतमा गत माघ महिनामा ४२३ वटा लिखत पास भएकोमा महिलाको नाममा ३१७ वटा लिखत पास भएको कार्यालय प्रमुख ढकालले बताए । त्यसैगरी भरतपुर मालपोत कार्यालय र खैरहनीमा महिलाको नाममा जग्गा पास गर्नेहरु बढीरहेको सम्बन्धित कार्यालयहरुले जनाएका छन् ।