भारत-पाकिस्तान तनाव फिल्मी क्षेत्रमा पनि देखियो

नयाँदिल्ली : कश्मीरमा हमलापछि दुई देशबीचको राजनीतिमा त यसले असर पारेको छ नै, फिल्मी क्षेत्रमा पनि यसको असर देखिएको छ ।

बलिउडका निर्माताले पाकिस्तानी कलाकारलाई बलिउडमा छिर्नै नदिने भन्दै प्रतिबन्ध लगाएका छन् भने पाकिस्तानमा पनि बलिउडका कुनै पनि फिल्मको ब्यापार तथा प्रदर्शनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन माग भएको छ ।

यसबारे पाकिस्तानमा एक नागरिक शेख अलीफले उच्च अदालतमा मुद्दा दायर गर्दै भारतीय फिल्म प्रदर्शन तथा व्यापारमा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

यसअघि पनि हिन्दी फिल्मको प्रतिबन्ध नवाज सरिफले फुकुवा गरिदिएका थिए । उनले सन् २०१७ मा पाकिस्तानमा भारतलगायत सबै अन्तर्राष्ट्रिय फिल्मको प्रदर्शन गर्ने घोषणा गरिदिएका थिए ।

पछिल्लो समय दुई देशबीच राजनीतिक तनाव बढिरहँदा दुबै देशका फिल्मकर्मी तथा ब्यापारीमा पनि यसको असर देखिएको हो । पछिल्लो समय भारतीय अधिकांश निर्माताले पाकिस्तानी कलाकारलाई फिल्ममा प्रवेश गर्न नदिने भनेपछि पाकिस्तानको तर्फबाट पनि हिन्दी फिल्म प्रदर्शन नगर्न माग भएको हो ।