श्रावणको पहिलो सोमबार भक्तपुरको डोलेश्वरमा भीड

भक्तपुर । श्रावणको पहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको आज बिहानैदेखि भीड लागेको हो ।

मेलामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागि लाईनमा पालो कुरिरहेका थिए ।

२०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा श्रावण १ गतेबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका प्रवक्ता तथा पूर्वअध्यक्ष बिदुरमानसिंह बस्नेतले जानकारी दिए ।

शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन गर्नु हुने उनले जानकारी दिए ।