रत्ननगर महोत्सवको तयारी पुरा, काठमाडौँको झल्को मेटाउने धरहरा निर्माण

चितवन,पुस २५ –

पुस २७ देखि माघ ७ गतेसम्म सञ्चालन हुन लागेको नवौँ सँस्करणको रत्ननगर महोत्सव तयारी पुरा भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य सँघले आज महोत्सवस्थल टिकौली चौरमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको जानकारी दिएको हो । महोत्सवको उपराष्ट्रपती नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने ४ सय ५० भन्दा बढी स्टल रहनेछन् । महोत्सव अबलोकन गर्न आउने दर्शकलाई मनोरञ्जन प्रदान गर्न रत्ननगर महोत्सवमा एतिहासिक धरहरा देखि रथ चढ्ने व्यवस्था मिलाइएको छ । महोत्सवलाई नयाँ पन दिन र अबलोकनकर्तालाई मनोरञ्जन प्रदान गर्न विभिन्न आर्कषक विषयहरु समावेस गरिएको सँघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए । महोत्सव अबलोकन गर्न आउनेले सामान खरिद र गीत सुनेर मात्र फर्किनु पर्यो भन्ने भान नपरोस भनेर एतिहासिक महत्वका बस्तुहरु पनि महोत्सवमा राखिएको सयोजक रेग्मीले बताए । महोत्सवमा सबैले चासोका साथ हेर्ने पँक्षी अस्टिज समेत राखिने छ । महोत्सव परिसरमा जातजातीका संस्कृति झल्कने घर निर्माण गरिएको छ ।

महोत्सवमा कृषि प्रदर्शनी तथा प्रतियोगिता, च्याउ, मह, तरकारी, थोपा सिँचाइ प्रविधि केरा, माछा, च्याउ, पोल्ट्री, फलफूलको परिसर रहनेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीमा बंगलादेश, पाकिस्तान र भारतको समेत सहभगिता रहने छ । महोत्सव अवधिभर सौराहासहित चितवनका विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धनका कार्यक्रम रहनेछन् । महोत्सवमा बँगुरपालन व्यवसायको प्रर्वद्धनका लागी फुड फेस्टिवलको समेत आयोजना गरिएको छ । महोत्सवमा सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु २५ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ११ दिन सम्म चल्ने महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तर्गत कोमल ओली,बद्री पंगेनी,प्रमोद खरेल,मीना निरौला,मिलन लामा,हेमन्त शर्मा,एड्रिएन प्रधान,शशी रावल,सुनिल गिरी,भूवन प्यासी,नेत्रजी पन्त,संजिव सिँह राना लगायतका कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक समितिका सदस्य राजेन्द्र हमालले जानकारी दिए । जिल्लाको सर्वपक्षिय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका निर्वतमान अध्यक्ष तथा आर्थिक समितिका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।