कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः पेशी पुनः फागुन १३ गतेलाई सर्‍यो

चितवन,पुस २६-

सशस्त्र द्धन्दको समयमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धी मुद्दाको पेशी तोक्दै सर्दै आएको छ । विगत १५ महिनामा लगातार करिब १५ पटक पेशी तोकिए पनि ईजलासमा जान सकेको छैन । १५ वटा पेशी ईजलासमा नगईकनै सरेका हुन् ।

पछिल्लो पटक आज (बुधबार) का लागि तोकिएको पेशी पुनः फागुन १३ गते (आइतवार) का लागि तोकिएको छ । बुधबार उक्त मुद्दा हेर्ने न्यायाधिश कुलप्रसाद शर्मा विदामा रहेकाले पुनः सारिएको जिल्ला अदालत चितवनका सूचना अधिकारी केशवप्रसाद अधिकारीले बताउनुभयो । गत वर्षको कात्तिकदेखि २८ दिनदेखि एक महिना पाँच दिनको अन्तर पारेर पेशी तोकिंदै आएको भए पनि ईजलासमा जान नसकेको अधिकारीले बताउनुभयो । यो अवधिमा लगातार निर्वाचन परेर न्यायाधिश निर्वाचनमा खटिनु, न्यायाधिश विदामा बसेको समय पर्नु लगायतका कारण बहस हुन नसकेको अधिकारीको भनाई छ ।

अधिकारीको २०६१ जेठ २४ गते चितवनको रत्ननगरमा अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै तत्कालै प्रहरीमा उजुरी दिएका थिए । लामो समयपछि प्रहरीले २०७० चैत ३० गते उक्त मुद्दा अदालतमा दर्ता गराएको थियो ।