१३० सुकुम्बासी परिवार एकै घरमा वस्न सक्ने ।

  • १३० सुकुम्बासी परिवार एकै घरमा वस्न सक्ने
    पालुङटार नगरपालिकाको वडा नं. ७ मा १३० घरपरिवार वस्न सक्ने सुविधासम्पन्न भवन निर्माणको कार्य शुरु भएको छ । पालुङटार नगरपालिका भित्र रहेका वास्तविक सुकुम्वासी, गरीव तथा भूमीहिनहरुको बसोवासको समस्या समाधान गर्ने उद्धेश्यले उक्त भवन निर्माण गर्न लागिएको पालुङटार नगरपालिकाका मेयर दिपक बाबु कंडेलले बताउनुभयो । वडा नंं. ७ को ठाँटीटारमा रहेको एक सार्वजनिक स्थानमा उक्त भवन निर्माणको कार्य थालनी भएको छ । नेपाल सरकारको शहरी विकास मन्त्रालयबाट विनियोजित रकम १५ करोड ५० लाख ९८ हजार २३७ रुपैयाँको लागतमा सम्पन्न हुने सो भवन निर्माणको जिम्मा श्यामसुन्दर निर्माण सेवा प्रा.लि. ले पाएको छ । २०७४ असार ३० गते सम्झौता गरी काम शुरु गरेको निर्माण कम्पनीले २०७६ पौष मसान्तसम्ममा सो भवन निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । निर्माण कार्य सम्पन्न भएपछि प्रति परिवारले एक भान्साकोठासहित ३ कोठाका दरले पाउनेछन । सो भवनमा बसोबास गर्ने सवै १३० परिवारको लागी आवश्यक सामग्री सहिता सुविधाहरु समेत उपलब्ध गराउने मेयर कंडेलले बताउनुभयो । निर्माण कार्य बस्तीको बीच भागमा गरिएको र उत्पादनको लागी जग्गा जमीन नभएको स्थानीयले गुनासो गरेका छन भने वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले त्यसको समेत व्यवस्था गरिने बताउनुभएको छ ।