गोविन्द केसीले अनसन तोडे,गोपाल पराजुलीको राजीनामाबारे सहमति पत्र नै मौन

२९ पुस, काठमाडौं । अनसनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । शुक्रबार राति सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् ।

केसीले जुत्ता सिलाइ पेसा गर्ने नथुनिया मोचीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा.शशि शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै पुस २४ गते अनसन बसेका थिए ।

तर, अदालतले पुस २४ गते उनीमाथि अदालतको अवहेलना मुद्दा दर्ता गराउँदै पक्राउ गर्न आदेश दिएको थियो । त्यसको २ दिनपछि अदालतकै आदेशमा रिहा भएका केसीले सरकारसँग ५ बुँदे सहमति गर्दै अनसन तोडेका हुन् ।

सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौंमा केसीले अनसन कार्यक्रम अन्त्य गर्ने उल्लेख छ ।

केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख छैन ।