पालुङटार ७ का ४०० बढी घरहरुमा धारा जडान गरिंदै, खानेपानी समस्या समाधान आफ्नो प्रमुख एजेण्डा हुने नगरप्रमुख कंडेलको भनाई ।

 

गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ मा रहेको धौखोला विरुवाटार खानेपानी सञ्चालनमा आउने भएको छ । पा न पा ७ मा रहेको सो खानेपानी योजना लामो समयदेखि जीर्ण अवस्थामा थियो । स्थानीय निर्वाचन पश्चात स्थानीय जनप्रतिनिधीहरुको पहलमा हाल वल्ड भिजन इन्टरनेशनलको आर्थिक सहयोगमा इको नेपालले सो खानेपानी योजनालाई व्यवस्थित रुपमा वितरण गर्न लागिएको बताइएको छ । घरघरमा मिटर सिस्टमबाट ४०० भन्दा बढी घरधुरीलाई पानी वितरण गर्नकोलागी योजना अघि बढाइएको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । योजनाको कूल लागत १ करोड ५१ लाख ४७ हजार रहेको छिटै काम सम्पन्न गर्न आफूहरु लागिपरेको इको नेपालले जनाएको छ । यस योजना सम्पन्न भएपछि वडा नंं ७ का ४०० घरमा पानीको समस्या नहुने बताइएको छ । सो वडामा १५०० भन्दा बढी घरधुरी संख्या रहेको छ जसमध्ये अहिले अधिकाँस घरहरुमा खानेपानीको समस्या रहेको छ । आगामी १ वर्षभित्रमा सवै घरमा खानेपानी पुर्याउने लक्ष राखेको समेत वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै गरी खानेपानी समस्या अहिलेको समयमा प्रमुख समस्या रहेको कारण नगरपालिका भरि नै खानेपानी समस्यालाई प्रमुख प्राथमिकतामा राखी आफूले योजना अघि बढाउने नगर प्रमुख इ. दिपकबावु कंडेलले बताउनुभयो । उहाँले आफू जनताको हितको लागी कुनै पनि तरहले लागिपर्ने समेत बताउनुभएको छ । नगरपालिकाका वडा नं. ७ सहित अन्य वडाहरुमा पनि खानेपानीको चर्को समस्या रहेको छ ।